काठमाडौं । विश्वका अटो निर्माता कम्पनीहरू चीनको आगामी निर्यात नियन्त्रण अघि अत्यावश्यक दुर्लभ धातु (रेयर अर्थ्स) खोज्दै विश्वभर दौडिरहेका छन् । कार्यकारी अधिकृतहरू यी नियन्त्रणले उत्पादनका लागि आवश्यक पुर्जाको अभाव र कारखाना बन्द हुने अवस्थासमेत निम्त्याउन सक्नेमा चिन्तित छन् ।
दुर्लभ धातुबाट बनेका चुम्बकहरूले साइड मिरर, स्पिकर, तेल पम्प, विन्डसिल्ड वाइपर, इन्धन चुहावट र ब्रेक सेन्सर जस्ता कारका विभिन्न भागका मोटरहरू सञ्चालन गर्छन् । विद्युतीय सवारीसाधन (ईभी) मा त तिनको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ ।
अमेरिका–चीनबीचको एउटा सम्झौताले तत्कालको आपूर्ति जोखिम त घटाएको छ, तर यसअघि पनि यस्तै प्रतिबन्धका कारण भण्डारहरू सकिएका थिए । साथै बेइजिङले निर्यात अनुमति पाउन अझ कडा नियम लागू गरेको छ ।
त्यसबेलादेखि चीनले निर्यात नियन्त्रणलाई ठूलो मात्रामा विस्तार गरेको छ, जसका कारण कम्पनीहरू विश्वव्यापी आपूर्ति अभावको सामना गरिरहेका छन् ।
कन्सल्टेन्सी कम्पनी अलिक्सपार्टनर्सका अनुसार चीनले विश्वका दुर्लभ धातु खानीमध्ये करिब ७० प्रतिशत, रिफाइनिङ क्षमताको ८५ प्रतिशत र धातु मिश्रण तथा चुम्बक उत्पादनको करिब ९० प्रतिशत नियन्त्रणमा राखेको छ ।
चीनको नयाँ निर्यात नियन्त्रण सूचीमा इटर्बियम, होमियम र युरोपियमजस्ता तत्त्वहरू पनि छन्, जसको प्रयोग गाडी निर्माणमा पनि हुन्छ ।
‘स्थिति अत्यन्तै तनावपूर्ण छ,’ जर्मन मेटल–पाउडर आपूर्तिकर्ता एनएमडीकी सीईओ नाडिन राज्नरले भनिन्, ‘ग्राहकहरू चीन बाहेक जहाँसुकैबाट दुर्लभ धातु ल्याउन चाहन्छन् ।’
राज्नरका अनुसार स्विडेनजस्ता देशमा यस्ता धातु प्रशस्त भए पनि त्यहाँ खानी र रिफाइनिङ क्षमता नभएकाले प्रयोगयोग्य बनाउन सकिँदैन । र भारी दुर्लभ धातुको सन्दर्भमा चीनले विश्व रिफाइनिङ क्षमताको ९९.८ प्रतिशत नियन्त्रण गरेको छ, जसले वैकल्पिक स्रोतहरू लगभग नगण्य बनाएको छ ।
‘हामीले अहिले प्रायः सबै बिक्री गरिसकेका छौं र सीमित मात्रामा स्टक बाँकी छ,’ उनले भनिन् ।
दुर्लभ धातुहरू पुराना गाडीहरूबाट पुनःप्रयोग गर्न सकिन्छ, तर त्यो उद्योग अझ प्रारम्भिक चरणमै छ । रिनल्ट समर्थित कम्पनी न्युट्रलले अहिले फ्रान्समा हरेक वर्ष ४ लाख गाडीबाट यस्ता धातु पुनःप्रयोग गर्छ र युरोपका १५ ब्रान्डसँग सम्झौता गरेको छ।
तर ‘यी गतिविधिहरूलाई ठूलो स्तरमा विस्तार गर्नु चुनौतीपूर्ण छ,’ न्युट्रलका सीईओ जाँ–फिलिप बाहुआदले भने ।
पहिले नै सकिएको स्टक
यदि चिनियाँ आपूर्तिकर्ताहरूले नोभेम्बर ८ अघि नयाँ अर्डर पूरा गर्न सके पनि चीनबाट युरोप पुग्न जहाजमार्फत ४५ दिन लाग्छ । त्यसैले दुर्लभ धातुको अभाव गाडी उद्योगका लागि ठूला समस्यामध्ये एक बनेको छ ।
चीनले लिथियम–आयन ब्याट्री र ब्याट्रीका सामग्रीमा पनि निर्यात प्रतिबन्ध लगाएको छ जसले विद्युत सवारीका पुर्जाको आपूर्तिमा थप चिन्ता बढाएको छ ।
गत हप्ता चीन र नेदरल्याण्डबीचको बौद्धिक सम्पत्ति (आईपी) विवादले पनि नयाँ डर सिर्जना गर्यो । यसले नेक्पेरिया नामक सानो डच चिप निर्माता कम्पनीलाई प्रभावित पार्यो जसले गाडीका पुर्जामा प्रयोग हुने धेरै चिप आपूर्ति गर्छ ।
गाडी निर्माता कम्पनीहरू अमेरिकी शुल्कको चुनौतीसँग पनि जुझिरहेका छन् र तेस्रो त्रैमासिक नतिजामा यसले थपिएको लागत खुलाउने अपेक्षा गरिएको छ ।
तर दुर्लभ धातुमा चीनको नियन्त्रण भने गाडी उद्योगका लागि सबैभन्दा कठिन समस्यामध्ये एक बनेको छ ।
‘चीनले चाहे दुई महिनामै सम्पूर्ण गाडी उद्योग बन्द गरिदिन सक्छ,’ टोयोटा मोटरका उत्तरी अमेरिकी खरिद तथा आपूर्तिकर्ता विकास उपाध्यक्ष रायन ग्रिमले भने।
बोस्चका फ्रान्स, बेनेलक्स, पश्चिम र दक्षिण युरोपका अध्यक्ष ब्रुनो गाहेरीले भने, ‘गाडी उद्योगले म्यादअघि दुर्लभ धातुहरू बढी मात्रामा स्टक गर्न खोज्नेछ ।’
तर हुन्डाईका लागि चुम्बक आपूर्तिकर्ता एक कार्यकारीले भने, ‘हामीले यस वर्ष सुरुमा स्टक बनाए पनि अधिकांश पहिले नै सकिएका छन् र अहिले आपूर्ति निकै कडा छ ।’
तीन उद्योग स्रोतहरूले रोयटर्सलाई भने अनुसार अक्टोबर ९ मा नयाँ निर्यात नियन्त्रण घोषणा भएपछि चिनियाँ दुर्लभ धातु निर्यातकर्ताहरूले विदेशी ग्राहकहरूबाट अर्डरको ठूलो बाढी पाएका थिए ।
दुर्लभ धातु–रहित मोटरहरू
गाडी निर्माता कम्पनीहरू निर्भरता घटाउने प्रयासमा छन् । जनरल मोटर्स, जेएफ र बोर्गवार्नरजस्ता ठूला कम्पनीहरूले कम वा शून्य दुर्लभ धातु प्रयोग हुने ईभी मोटर विकास गरिरहेका छन् । बीएमडब्ल्यू र रिनल्टले त पहिले नै दुर्लभ धातु–रहित मोटर उत्पादन गरिसकेका छन् ।
ब्रिटिश कम्पनी मोनुमोले कृत्रिम बौद्धिकता (एआई) र डीप–टेक सिमुलेशनको प्रयोग गरेर ग्राहक कम्पनीहरूको मोटरमा दुर्लभ धातु प्रयोग २४ प्रतिशतसम्म घटाएको छ, जसका ग्राहकहरूमा विश्वका शीर्ष १० गाडी निर्माता कम्पनीहरू पनि छन् ।
अटो कम्पनीहरू अब नयाँ पुस्ताका ईभीका लागि दुर्लभ धातु–रहित मोटरहरू अझ सुधार गर्ने प्रयासमा छन् ।
तर ती मोटरहरू बजारमा आउन अझै वर्षौं लाग्नेछ र चीन बाहेक अन्य देशमा नयाँ खानी र रिफाइनिङ प्लान्ट विकास गर्न पनि लामो समय लाग्नेछ । चीनले कम मूल्यमा प्रतिस्पर्धा गरेर ती प्रयासहरू असफल पार्न सक्छ ।
विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारले यस विषयलाई युरोपभन्दा धेरै गम्भीर रूपमा लिएको छ ।
एससी इनसाइज्ट्सका सह–संस्थापक एन्डी लेल्यान्डका अनुसार ‘बेइजिङ सधैं मूल्यमा अरूलाई हराउने रणनीतिमा केन्द्रित छ र त्यही जारी राख्नेछ ।’
उनी भन्छन्, ‘चिनियाँ कम्पनीहरूले सधैं प्रतिस्पर्धीहरूलाई अन्डरकट गर्न सक्छन् । त्यसैले दुर्लभ धातु–रहित मोटर विकास गर्ने प्रयास महँगो र जोखिमपूर्ण लगानी हो ।’
यसबीच चीनले दुर्लभ धातुको आपूर्तिमा आफ्नो शक्ति कायम राख्ने अपेक्षा गरिएको छ ।