मनाइयो गाई तिहार

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन मंगलबार (आज) गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआजा गरेका हुन् । 

यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । 

आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । 

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। 
गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । 

आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । 

कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । 

Share News