नर्सहरूको पारिश्रमिक बढाउन माग गर्दै नर्सिङ संघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । निजी अस्पतालमा कार्यरत आन्दोलनरत नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम  घोषणा गरेका छन् । आइतबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना मागहरू पुरा पेश गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलन कार्यक्रम अन्तर्गत कार्तिक ४ गते मंगलबारदेखि ११ गते सम्म देश भरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गर्ने जनाइएको छ । यस्तै १२ गतेदेखि १८ गते सम्म दिनको २ घण्टा अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने, १८ गते सम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने नर्सिङ संघले जनाएको छ । 

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भए अनसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गर्नुपर्ने, हाल सम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् । 

यति गर्दा पनि अटेरी भएमा कडा आन्दोलन गर्ने नर्सिङ संघका महासचिव देवका आचार्यले बताइन् । उनका अनुसार आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । निजी अस्पताल तथा मेडिकल सञ्चालकहरू बैठकबाट निस्केपछि छलफल निष्कर्षमा पुग्न सकेन ।

Share News