काठमाडौं । सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्याएको छ ।
यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ ।
सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो ।
सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ ।
सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् ।
वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो ।
ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ ।
यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ ।
२००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो ।
तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ ।
पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो ।
त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् ।
चीन र रसियाको मागले सुन अझै तातियो
खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ ।
तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो।
शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् ।
रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ।
उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो ।
यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ ।
सुन अझै बढ्न सक्छ ?
रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् ।
मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ ।
विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ ।
केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ ।
यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् ।
मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध
अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत