अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत

विश्वव्यापी आपूर्ति शृंखला र लगानी प्रवाहमा ठूलो अवरोध

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध तीव्र बनेको छ । यदि यो युद्ध रोकिएन भने यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसबाट ठूलो क्षति हुने आशंका छ । यही तनावका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेत चिन्तित बनेको छ । 

आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिभाले यो तनाव तुरुन्त घटाउन आग्रह गरेकी छन् । उनले आशा व्यक्त गरेकी छन् कि अमेरिका र चीनबीचको व्यापार तनाव कम हुनेछ र दुर्लभ पृथ्वी तत्व (रेयर अर्थ) को विश्वव्यापी प्रवाहमा अवरोध आउनबाट जोगिनेछन् । 

जर्जिभाका अनुसार यस्तो अवरोधले विश्व विकासमा ‘गम्भीर असर’  पार्नेछ । जर्जिभाले आईएमएफको सञ्चालन समिति (स्टेरिङ कमिटी) को बैठकपछि यो टिप्पणी गरेकी हुन् । 

उनले भनिन्, ‘यस्तो अवस्था जारी रहेमा अनिश्चितता बढ्नेछ र पहिले नै कमजोर रहेको विश्व अर्थतन्त्रलाई अझै क्षति पुर्याउनेछ ।’ 

यस वर्ष आईएमएफ र विश्व बैंकको वार्षिक बैठक त्यतिबेला सम्पन्न भयो जब विश्वका दुई ठूला अर्थतन्त्र—अमेरिका र चीन—बीचको व्यापार युद्धले नयाँ मोड लिएको छ । यसले विश्वभरका हजारौं वित्त अधिकारी र केन्द्रीय बैंकका गभर्नरबीचको छलफलमा प्रभुत्व जमाएको छ । 

आईएमएफले मंगलबार २०२५ का लागि विश्व जीडीपी वृद्धिदर ३.२ प्रतिशत रहने अनुमान गरेको थियो, जुन जुलाईमा गरिएको ३.० प्रतिशत र अप्रिलको २.८ प्रतिशतको अनुमानभन्दा बढी हो । 

आईएमएफका अनुसार भन्सार शुल्क (ट्यारिफ) का असर र वित्तीय परिस्थितिहरू अपेक्षाभन्दा बढी अनुकूल देखिएका छन् । तर यो अनुमानमा अमेरिका र चीनले हालै उठाएका नयाँ जोखिमहरू समेटिएका छैनन् ।

जर्जिभाले आईएमएफले यी घटनाक्रमहरूलाई नजिकबाट अनुगमन गरेको जानकारी दिइन् । सदस्य राष्ट्रहरूले हाल विश्व अर्थतन्त्र छ महिनाअघि अनुमान गरिएको भन्दा बढी लचिलो देखिएकामा केही राहत महसुस गरेका छन् । उनका अनुसार देशहरू पूर्वाधार सुदृढ पार्न, नियामक सुधार गर्न र विश्व असन्तुलन घटाउन तयार देखिएका छन् । तथापि उनीहरूले अझै गहिरो चिन्ता व्यक्त गरिरहेका छन् ।

यता विशेषज्ञहरू यदि अमेरिका र चीनबीचको व्यापार तनाव दीर्घकालीन रूप लिन्छ भने यसले विश्वव्यापी आपूर्ति शृंखला (सप्लाई चेन) र लगानी प्रवाहमा ठूलो अवरोध सिर्जना गर्ने चेतावनी दिन्छन् । 

विश्वका प्रमुख उद्योगहरू— जस्तै प्रविधि, अर्धचालक, ऊर्जा र कृषिमा यसको प्रत्यक्ष असर पर्नेछ । यसले न केवल वस्तुहरूको मूल्यवृद्धि गर्नेछ, तर उपभोग, रोजगारी र उत्पादन क्षमतालाई पनि दीर्घकालीन रूपमा कमजोर पार्ने खतरा रहेको विश्लेषकहरूले बताउँछन् ।

अर्थशास्त्रीहरूका अनुसार वर्तमान विश्व अर्थतन्त्र अझै कोभिड–१९ र युक्रेन युद्धका असरबाट पूर्ण रूपमा उकासिन सकेको छैन । त्यसमाथि अमेरिका–चीन व्यापार युद्धले थप अनिश्चितता थप्ने हो भने विश्व बजार पुनः अस्थिर बन्नेछ । 

त्यसैले दुवै मुलुकले वार्ता र सहकार्यको बाटो रोज्नु नै विश्व अर्थतन्त्रलाई दीर्घकालीन स्थायित्वतर्फ डोर्ने एक मात्र उपाय भएको उनीहरूको धारणा छ ।

अमेरिका–चीन व्यापार युद्ध तीव्र हुँदै जानुको पछाडि राजनीतिक, आर्थिक र प्राविधिक धेरै कारणहरू छन् । 

अमेरिका लामो समयदेखि चीनसँग ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । अमेरिकी दृष्टिमा चीनले अमेरिकी बजारमा अत्यधिक वस्तु निर्यात गर्छ तर अमेरिकी वस्तुहरूलाई चीनले सीमित रूपमा मात्र आयात गर्छ । यस असन्तुलन घटाउन अमेरिका भन्सार शुल्क (ट्यारिफ) लगाउँदै आएको छ, जसले तनाव बढाएको हो ।

त्यसैगरी, अमेरिका र चीन दुबै उच्च प्रविधि (जस्तै कृत्रिम बौद्धिकता (एआई), अर्धचालक, र दूरसञ्चार) क्षेत्रमा विश्व नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । अमेरिकाले चीनका प्रविधि कम्पनीहरू विशेष गरी हुवाई र टीकटकजस्ता कम्पनीहरूमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा चीन अमेरिकाप्रति असन्तुष्ट छ ।

त्यस्तै, दुवै देश विश्व नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिका आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ भने चीन विश्व अर्थतन्त्र र राजनीतिमा आफ्ना प्रभाव विस्तार गर्न खोज्दैछ । यो शक्ति संघर्षले व्यापार युद्धलाई अझ राजनीतिक रंग दिएको छ ।

अमेरिकाले चीनमा अत्यधिक निर्भरता खतरनाक ठानेको छ, विशेष गरी अर्धचालक, ऊर्जा र खनिजमा । त्यसैले अमेरिका उत्पादनलाई आफ्नै देश वा मित्र राष्ट्रहरूमा सार्न खोज्दैछ । चीनले यसलाई आफ्नो आर्थिक नियन्त्रणमा आक्रमणको रूपमा लिएको छ ।

हालै दुबै देशले एकअर्काको सामानमा नयाँ भन्सार शुल्क लगाएका छन् । अमेरिकाले चिनियाँ इलेक्ट्रिक सवारी, ब्याट्री र स्टिलमा उच्च ट्यारिफ तोकेको छ भने चीनले अमेरिकी कृषिजन्य र लगानी सम्बन्धी वस्तुमा कर बढाएको छ ।

अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै

ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने !

ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर

Share News