काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकको भत्ता थप तथा सुविधामा हेरफेर गर्ने, स्वतन्त्र सञ्चालक कमला वाग्लेको नियुक्तिलाई अनुमोदन गर्ने र सामाजिक उत्तर दायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्नेछ ।
यस्तै, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न श्री एसएआर एसोसिएट्सलाई पुन नियुक्त गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।