सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् । 

सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो । 

उनले भने, ‘बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो ।’
 

Share News