शिवम् होल्डिङ्सको ११ करोड ६० लाख बराबरको नगद लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्सकाे सहायक कम्पनी शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीहरूलाई ११ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सो आर्थिक वर्षका लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा वार्षिक प्रतिवेदनसहितका अन्य सबै प्रस्तावहरू पनि एकमतले पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

शिवम् होल्डिङ्सले नेपालमा रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेड मा ८५ प्रतिशत स्वामित्व राखेको छ । बाँकी १५ प्रतिशत सेयर नेपालका विभिन्न क्षेत्रमा सक्रिय सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो वर्ष (२०८१/०८२ सम्म) सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ । साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड मूल्यका सेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतीक्षामा रहेको जनाएको छ ।

Share News