बीवाइडीको १ करोड ४० लाख गाडी उत्पादन

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी सहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ । 

उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बीवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भालाई हस्तान्तरण गरिएको थियो ।

बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्त्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एसियाभन्दा बाहिर बीवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । 

दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूको उपस्थिति थियो ।

बीवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय बताएको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

हालसम्म बीवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् । 

ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बीवाइडीले जनाएको छ ।
 

Share News