काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
कात्तिक महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।
यस्तै, कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो ।
कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् ।
यस्तै, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकमा ब्याजदर स्थिर राखेका छन् ।
