काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’ रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् ।
बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’
सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’
उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ ।
सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ ।
क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् ।
‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’
क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ ।
धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् ।
तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’
क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन ।
भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ ।
क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन ।
अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’
क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ ।
‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’
‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे ।
त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ ।
ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने !
टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो