एमाले संगठन विभागका सचिव ढुंगेल विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने पक्षमा

काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने बताएका छन् । 

अध्यक्ष केपी ओली पक्षीय नेता ढुँगेलले केन्द्रीय कमिटी बैठकमा उक्त विषय उठाएका हुन् । पछिल्ला दिनमा एमालेभित्र भण्डारीको सदस्यता नवीकरणबारे चर्चा चर्किँदै गर्दा उनको समर्थनलाई रहस्यमयी र गज्जबको प्रस्तावका रूपमा लिइएको छ ।

भण्डारीको नेकपा एमालेमा सदस्यता नवीकरणबारे पार्टीभित्र विभिन्न मत आउँदै गर्दा ढुँगेलले भण्डारीलाई विवादित बनाएर राजनीतिको मुख्यधारमा तान्नु उचित नहुने बताउँछन् ।

सदस्यता नवीकरण सामान्य प्रक्रिया मात्रै नभई राजनीतिक दायित्व र पारदर्शिताको सवाल पनि हो भन्ने तर्क उनको छ । 

पार्टीले सदस्यता नवीकरण गर्दा उनी सात वर्षसम्म राष्ट्रपति रहँदा पार्टी त्यागेको तथ्य उल्लेख गर्नुपर्ने ढुँगेलको बताए ।

साथै सदस्यता दिने हो भने जिम्मेवारी र भूमिकासमेत किटान गर्नुपर्ने, अन्यथा पूर्वराष्ट्रपतिको मर्यादामा रहन आग्रह गर्नुपर्ने सुझाव पनि ढुँगेलले दिएका छन् ।

ढुँगेलले भण्डारीको एमालेमा ऐतिहासिक योगदान र संगठन विस्तारमा पुर्याएको भूमिकालाई स्मरण गर्दै उनी पुनः सक्रिय हुनुपर्ने धारणा राखेका हुन् । 

पार्टीभित्र कतिपय नेताहरू भण्डारीलाई प्रतीकात्मक रूपमा राख्न चाहन्छन् । केही नेताहरूले उनलाई संगठनात्मक भूमिकामा फर्काउन उपयुक्त नहुने तर्क दिएका छन् ।

भण्डारीको सदस्यता नवीकरणको मुद्दा अहिले एमाले नेतृत्वमा छलफलको मुख्य विषय बनेको छ । 

ढुंगेलको समर्थनले यो बहसलाई अझ रोचक बनाएको छ किनकि उनी स्वयं संगठन विभागका जिम्मेवार नेता हुन् र उनको मतले आगामी निर्णयमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

Share News