निरन्तर घट्दै सेयर कारोबार रकम, एक वर्षकै न्यून विन्दुमा नेप्से

काठमाडौं । साताको अन्तिम कारेबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २४८७ विन्दुमा झरेको छ ।

आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ ।

सेयर बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता बजार लगातार ओरालो लागिरहेको छ ।

बिहीबार ३११ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । मुक्तिनाथको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्सको १३ करोड, शिवम् सिमेन्टको ११ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ७९ लाख र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बैंकिङ सूचक ०.०२ प्रतिशत बढेको छ भने अरु सूचक घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशतले घटेका छन् ।

Share News