काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने भएको छ । लघुवित्तले खुला प्रतिस्पर्धाका माध्यमबाट सीईओ छनोट गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
लघुवित्तको सीईओ बन्न इच्छुकले कात्तिक १९ गतेभित्र दरखास्त दिनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्क, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यस्तै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्यानुभव र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (५ घ) बमोजिम अयोग्य नभएको हुनुपर्ने सर्त राखिएको छ ।
यसअघि सीईओ रहेका डा. शिवराम प्रसाद कोइरालाको गत भदौ १३ गतेदेखि कार्यकाल सकिएपछि अहिले संस्था सीईओ विहीन छ । नयाँ सीईओ नियुक्त नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए ।