काठमाडौं । जेनजी आन्दोलनको क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको तोडफोड र आगजनीका कारण विभागको अत्यन्त महत्त्वपूर्ण प्रणाली ईडीएलभीआरएस (विद्युतीय चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता प्रणाली) पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । जसका कारण ट्राफिक प्रहरीले प्रवाह गर्दै आएको अनलाइन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
नागरिक एपमार्फत क्यूआर कोड देखाएर ट्राफिक कारबाही गर्ने वा अनलाइन सचेतना कक्षा सञ्चालन गर्ने जस्ता डिजिटल सेवाहरू यो प्रणालीमार्फत सञ्चालन हुँदै आएका थिए । तर ईडीएलभीआरएस सर्भर नचल्दा यी सेवा अवरुद्ध भएका छन् । अबदेखि नियम उल्लङ्घन गर्दा अनलाइन ई-चलान होइन, २४ घण्टे पुर्जीमार्फत कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ईडीएलभीआरएस सर्भरमा क्षति पुगेपछि यातायात विभागको सम्पूर्ण डिजिटल सेवा ठप्प छ । विभागले हाललाई अघिल्ला अभिलेख वा सेवाग्राहीका कागजातका आधारमा सेवा दिने निर्देशन विभिन्न कार्यालयहरूमा पठाएको छ।
जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र तोडफोडले भौतिक संरचना मात्र होइन, विद्युतीय प्रणालीमा पनि गम्भीर क्षति पुर्याएको विभागको भनाइ छ ।
भवन क्षतिग्रस्त भएपछि विशेषगरी डिजिटल सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन् । ‘डिजिटल सेवाहरू हामी केही पनि चलाएका छैनौं,’ विभागका सूचना अधिकारी गणेश राईले भने, ‘यो पूर्ण रूपमा प्रभावित छ ।’
प्राविधिक जटिलताका कारण डिजिटल सेवाहरू कहिलेबाट पुनः सुरु हुन्छ भन्ने बारेमा निश्चित जानकारी दिन विभागले सकेको छैन । म्यानुअल सेवाको तुलनामा प्राविधिक सेवाको पुनःस्थापनामा समय लाग्ने उनको भनाइ छ । सेवाग्राहीहरूले हाल कार्यालय भवनको बाहिर छेउमा राखिएका अस्थायी काउन्टरबाट सेवा लिन सक्ने राईले बताए ।
विभागले सर्भर मर्मत तथा पुनः स्थापना प्रक्रिया अगाडि बढाएको बताएको छ । तर कति समय लाग्ने भन्ने टुंगो छैन । यसबीचमा नागरिकले ट्राफिक तथा यातायात सेवा लिन भौतिक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।