काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेसँगै नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय सुनचाँदीको मूल्य दैनिक बढिरहेको छ । बजारमा सुनको अभाव रहेको र माग बढी भएको भन्दै व्यवसायीले नेपाल राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गरेका थिए ।
सोही आग्रह अनुसार राष्ट्र बैंकले पनि २० केजीबाट सुनको आयात २५ केजी निर्धारण गरेको छ । कोटा बढाइए पनि अझै पनि बजारमा सुनको अभाव रहेको व्यवसायीहरु बताउँछन् ।
उनीहरुले ४० केजी आयात गर्न पाउनु पर्ने माग राखिरहेका छन् ।