विनोद, रविभक्त र रमेशको व्यावसायिक सहयात्रा, साढे ११ अर्ब लगानीमा कुपन्डोलमा होटल र अपार्टमेन्ट

६ अर्बको लागत अनुमान ११ अर्ब नाघ्यो

काठमाडौं । तीन ठूला व्यवसायीले व्यावसायिक सहयात्रा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ र शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माबीच व्यावसायिक साझेदारी भएको हो । 

उनीहरुले मिलेर अहिले ललितपुरको कुपण्डोलमा समिट होटल र अपार्टमेन्टहरु निर्माण गरिरहेका छन् । उनीहरुले समिट होटल प्राइभेट लिमिटेड नामक कम्पनीबाट पुरानो समिट होटललाई भत्काएर नयाँ संरचना बनाइरहेका छन् । 

कम्पनीका अनुसार हाल कम्पनीले पुरानो सञ्चालनमा रहेको होटल भवनलाई भत्काएर नयाँ संरचना निर्माण गर्ने कार्य सुरु गरेको छ । नयाँ निर्माण अन्तर्गत १२० कोठे होटल भवन र १५० एकाइ मिलेर बनेका दुईवटा आवासीय अपार्टमेन्ट टावरहरू निर्माण गरिँदैछन् । 

सन् २०२५ अप्रिलको मध्यसम्म कम्पनीको चुक्ता पूँजी ४१ करोड ६० रुपैयाँ रहेको छ । जसको करिब ५१ प्रतिशत हिस्सा आर एण्ड आर हेरिटेज प्रालिले (चौधरी समूह र आईजे समूहबीचको संयुक्त लगानी) स्वामित्व गरेको छ । करिब ३४ प्रतिशत हिस्सा जेन इन्फ्रा एण्ड बिल्डर्स प्रालिले (इम्प्लिमेन्टिङ एक्सपट्र्स ग्रुप) र बाँकी करिब १५ प्रतिशत हिस्सा रमेश शर्माको रहेको छ । 

यद्यपि, रेटिङ एजेन्सी इक्रा नेपालले भने यस कम्पनीको रेटिङ घटाएको छ । इक्रा नेपालले यस कम्पनीलाई दीर्घकालिन ऋणको लागि एलबी प्लस र अल्पकालिन ऋणको लागि ए फोर रेटिङ प्रदान गरेको छ । रेटिङ घट्नुको मुख्य कारण कम्पनीको समग्र परियोजना लागतमा करिब ६८ प्रतिशत वृद्धि हुनु र परियोजनाको प्रगति ढिलो हुनु रहेको इक्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले हालसम्मको अनुमान अनुसार परियोजनाको लागत ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँबाट बढेर ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको जनाएको छ । लागत बढ्नुमा अपार्टमेन्टको निर्मित क्षेत्रफल विस्तार (करिब २८ प्रतिशत वृद्धि) भए पनि बिक्रीयोग्य क्षेत्रफल नबढ्नु र विगतको जमिन धसाइ समस्या समाधान गर्न अतिरिक्त जग निर्माण गर्नुपर्ने अवस्थाले थप खर्च बढाएको उल्लेख छ । 

मध्य अप्रिल २०२५ सम्म परियोजनाको समग्र भौतिक प्रगति २३ प्रतिशत मात्र पुगेको छ, जबकि अपार्टमेन्ट खण्डको प्रगति करिब ३९ प्रतिशत छ । होटल खण्ड अझै डिजाइन चरणमै रहेको कम्पनीले जनाएको छ । 

काठमाडौं उपत्यकाको रियल स्टेट र होटल क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दै गएकाले समिट होटल परियोजना सञ्चालन भएपछि पनि स्थायित्वमा चुनौती रहने इक्राले विश्लेषण गरेको छ । विशेष गरी अन्तर्राष्ट्रिय ब्रान्डसमेत प्रवेश गरिरहेका बेला मूल्य र आम्दानीमा दबाब पर्ने सम्भावना छ । 

यद्यपि, परियोजना ललितपुरको आकर्षक स्थानमा रहेको र अनुभवी प्रवर्तक समूहहरू– चौधरी समूह, आईजे समूह, इम्प्लिमेन्टिङ एक्सपट्र्स समूह र शर्मा एण्ड कम्पनी प्रालिको संलग्नता रहेकोले दीर्घकालीन रूपमा यसले राम्रो परिणाम दिन सक्ने अपेक्षा गरिएको छ ।
 

Share News