काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा-ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा।नीलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।
महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा-ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवा-ब्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।
उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरूको महान चाड दशैंको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ-संस्थाहरूबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताउनु भयो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।