काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले मंगलबार लगानीकर्ताहरूलाई ठूलो घाटा बेहोर्नुपर्यो । उनको उक्त अभिव्यक्तिका कारण मात्र ७ मिनेटभित्र लगानीकर्ताहरूले करिब ४५० अर्ब डलर गुमाए ।
ट्रम्पले भनेका थिए कि चीनले अमेरिकाबाट सोयाबिन किन्ने काम रोकेको छ र यसको जवाफस्वरूप अमेरिका स्वयंले कुकिङ तेल उत्पादन गर्नेछ । यही कारणले सेयर बजारमा तीव्र गिरावट आएको हो ।
एसएन्डपी ग्लोबलको तथ्यांकअनुसार चीनले गत वर्ष २.९५१ मिलियन मेट्रिक टन कुकिङ तेल निर्यात गरेको थियो, जसमा अमेरिका सबैभन्दा ठूलो आयातकर्ता थियो — उसले १.२६७ मिलियन मेट्रिक टन तेल आयात गरेको थियो ।
ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीन जानाजानी हाम्रो सोयाबिन किनिरहेको छैन र यसले हाम्रा किसानहरूलाई समस्या सिर्जना गरिरहेको छ । हामी चीनसँगको व्यापार सम्बन्ध अन्त्य गर्नेबारे सोचिरहेका छौं । हामी सजिलै आफ्नै कुकिङ तेल उत्पादन गर्न सक्छौं, त्यसैले अब हामीलाई चीनबाट किन्ने आवश्यकता रहने छैन ।’
यता अमेरिकी व्यापार प्रतिनिधि ग्रीयरले भनेका छन् कि राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकको मिति तय भइसकेको छ । यस घोषणासँगै बजार फेरि सुधारतर्फ उन्मुख भयो ।
अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आएको छ । हालै ट्रम्पले चेतावनी दिएका थिए कि यदि चीनले अमेरिकाका मागहरू स्वीकार नगरेमा नोभेम्बरदेखि उसमाथि १०० प्रतिशतसम्म अतिरिक्त शुल्क (ट्यारिफ) लगाइनेछ । यसको जवाफमा चीनले भनेको थियो, ‘हामी यो लडाइँ अन्तिमसम्म लड्नेछौं ।