काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले विगत २३ दिनदेखिकाे आन्दोलन जारी राखेका छन् । बोनस सुविधा पाउनु पर्ने भन्दै नेप्सेका कर्मचारीहरू २३ दिनदेखि आन्दोलन गरिरहेका हुन् ।
आज बुधबार २३ औँ दिनमा नेप्सेका कर्मचारीहरूले साढे २ घण्टा धर्ना तथा विरोध गरेकाे नेप्से कर्मचारी संघका अन्यक्ष नवराज थापाले जानकारी दिए । कर्मचारीहरूले असक्षम झोले सीईओ र अध्यक्ष राजीनामा दे भन्दै ब्यानर पनि प्रदर्शन गरेका छन् ।

साथै नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं २३ दिनदेखि हराइ रहेकाले खोजिदिन कर्मचारीहरूले अनुरोध गरेका छन् । आन्दोलन जारी रहेपनि सेवा पनि नियमित रहेको अध्यक्ष थापाको भनाइ छ ।
नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राखिरहेका छन् । साथै, श्रम अदालतले पनि कर्मचारीहरूलाई ५ प्रतिशत बोनस सेयर दिनु भनेर फैसला सुनाएको छ ।

तर, नेप्से सञ्चालक समितिको बैठकले भने श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिको निर्णय फिर्ता नलिएसम्म कर्मचारीहरुले सीईओ चापागाईं र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेका छन् ।


