काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधबार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे ।
आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताए । आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे ।
अध्यक्ष ओलीले भने, ‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु ।’
अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।