अब महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्ने

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नेहरूका लागि नयाँ नियम ल्याएको छ । सरकारले ल्याएको नयाँ नियमअनुसार काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिका र धरान उपमहानगरपालिकासहित ११ वटै उपमहानगरपालिकामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार अब अनिवार्य रूपमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरीएको छ ।

मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख मा संशोधन गर्दै सरकारले उक्त नयाँ व्यवस्था लागु गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेले जानकारी दिएअनुसार जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको हो ।

वाग्ले भन्छन्, ‘देशभरको जग्गा कारोबारलाई क्रमशः दर्ता भएका कम्पनीमार्फत सञ्चालन गर्ने दिशामा सरकारले काम अघि बढाएको छ ।’ 

उनका अनुसार अहिले महानगर र उपमहानगरमा लागू भएको यो व्यवस्था विस्तारै सम्पूर्ण देशभर कार्यान्वयन गरिनेछ ।

Share News