काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा, साँझ ७ बजेसम्म दुई सिफ्ट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।  

सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ ।

सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको  समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

Share News