काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनः सञ्चालनमा आएको हो ।
दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोसी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए ।
‘नदीको बहाव घटेसँगै जलयात्रा पुनः सञ्चालन भएको छ । अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ,’ उनले भने ।
दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगर लगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि ३/४ घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०/२५ मिनेटमा पार गर्न सकिने भएको छ ।
कोप्चे-बराह क्षेत्रबीचको भाडा ५ सय रुपैयाँ र चतरा पुग्न ७ सय रुपैयाँ तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पु¥याएर उपचार गर्न सहज भएको स्थानीय लाल बहादुर प्रधानले बताए ।
‘चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ । भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो । अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ,’ उनले भने ।
गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।