काठमाडौं ।अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा ४.३ प्रतिशत र सन २०२६ मा ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफले आज ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.७ प्रतिशत रहेको थियो । यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर ४.३ प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ ।
यस्तै, नेपालले सन् २०२६ मा ५.२ प्रतिशत र सन् २०३० मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा ४.१ प्रतिशत र २०२६ मा ४.२ प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ ।
आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशत रहने अनुमान गरिएको हो ।