काठमाडौं । सरकारले कम्पनीमार्फत हुने घरजग्गा कारोबारका लागि सीमा तोकेको छ । ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।
सरकारका सचिव केदारनाथ शर्माका अनुसार मालपोत ऐनको दफा २६ क र ख मा भएको व्यवस्था बमोजिम राजपत्रमा सूचना प्रकाशन गर्दै उपमहानगरपालिका र महानगरपालिकामा घर जग्गा कारोबारको सीमा एक पटकमा ३ करोड रुपैयाँभन्दा माथि तोकेको हो ।
साथै, घरजग्गा कारोबार गर्ने क्षेत्रफल भने जतिसुकै पनि हुन सक्ने जनाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकलाई अधिकारीका रुपमा तोकिएको छ ।
काठमाडौं, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उक्त व्यवस्था लागू हुनेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उप-महानगरपालिकामा उक्त व्यवस्था लागू हुने जनाएको छ ।