जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी बुधबारदेखि ललितपुरको जावलाखेलस्थित रामबाग महलमा सुरु हुँदैछ । तीन दिन चल्ने बैठकमा पार्टीभित्रको तयारीदेखि राष्ट्रिय राजनीति, संसद पुनःस्थापनाको रणनीति र आगामी महाधिवेशनका एजेन्डासम्म गहन छलफल हुने भएको छ ।

नेकपा एमालेले असोज २९ गतेबाट सुरु हुने १० औं केन्द्रीय कमिटी बैठकका सबै तयारी पूरा गरेको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक जावलाखेलको भनीमण्डलस्थित रामबाग महलमा तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थितिमाथि विस्तृत राजनीतिक प्रतिवेदन पेश गर्ने तय भएको गौतमले जानकारी दिए । 

गौतमका अनुसार उक्त प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, प्रधानमन्त्रीको संवादहीनता र निष्पक्ष निर्वाचनबारे बढ्दो शंका जस्ता विषयहरू समेटिएको छ ।

उनका अनुसार ओलीको प्रतिवेदनले हालको सत्तारूढ गठबन्धनको व्यवहार, शान्ति र स्थायित्वका चुनौती र नयाँ पुस्ताको आन्दोलनले ल्याएको राजनीतिक चेतनालाई समेत सम्बोधन गर्नेछ ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका कार्यक्रमहरूमा अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रचार प्रमुख गौतमले भने, ‘बैठकले संविधान, लोकतान्त्रिक गणतन्त्र र सुधारमुखी शक्तिसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेन्डालाई सशक्त रूपमा अघि बढाउने निर्णय गर्नेछ ।’ 

उनका अनुसार बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो सुझाव राख्ने छन् र छलफलका क्रममा बिबिध प्रस्तावहरूमाथि निर्णय हुने कार्यसूची रहेको छ । 

जेनजी आन्दोलनपछि एमालेको यो पहिलो पूर्ण बैठक हुन लागेको हो । पार्टीभित्र नयाँ पुस्ताको भूमिका, संगठनात्मक पुनर्संरचना र आगामी चुनावी तयारीबारे समेत बैठकमा गम्भीर बहस हुने अनुमान गरिएको छ ।

एमाले नेतृत्वले यो बैठकलाई राजनीतिक दिशा निर्धारणको निर्णायक मोडका रूपमा लिएको छ । अध्यक्ष ओलीले बैठकमार्फत पार्टीलाई पुनःसङ्गठित गर्दै सरकारविरुद्ध प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउने सन्देश दिने तयारी गरेको बुझिएको छ ।

Share News