पौने २९ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, बैंकसँग कति छ ?

१९.७ महिनाको आयात धान्ने

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति पौने २९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनाको तथ्याङ्क अनुसार गत असारको तुलनामा ७.६ प्रतिशत बढेर भदौमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित रहेको छ । जबकी गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १९ अर्ब ५० करोड रहेकोमा भदौमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुसँग २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

गत असारमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरूसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । २ महिनामा राष्ट्र बैंकमा ६.९ प्रतिशत र बैंकमा १३.७ प्रतिशत मुद्रा सञ्चिति बढेको हो । 

२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
 

Share News