काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक सामाजिक सञ्जालमा आलोचनाको घेरामा परेका छन् । एक वर्षभन्दा अगाडि लेखिएको कविता फेरि सम्पादन गरी पोस्ट गरेपछि उनीमाथि किसानप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।
बालेनले २०८१ साउन १ गते सामाजिक सञ्जालमार्फत पोस्ट गरेको उक्त कविता अहिले फेरि केही शब्द थपथाप गरी सोमबार पुनः सार्वजनिक गरेका हुन् । कवितामा किसानलाई फोहोरजस्तै उल्लेख गरिएको पंक्तिप्रति विभिन्न पक्षले आपत्ति जनाएका छन् ।
अखिल नेपाल किसान महासंघले संस्थागत रूपमै कडा प्रतिक्रिया जनाउँदै उक्त स्टाटस तत्काल हटाउन र बालेनले सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । महासंघले भनेको छ, ‘किसान देशका मेरुदण्ड हुन्, तिनको सम्मान गर्नुको साटो अपमानजनक शब्द प्रयोग गर्नु निन्दनीय छ ।’
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि बालेनप्रति तीव्र प्रतिक्रिया जनाइरहेका छन् । गत साल सोही कवितामा वाहवाह गरेका पाठकहरूले यस पटक भने उनको कटु आलोचना गरेका हुन् । जनप्रतिनिधिको कुर्सीमा बसेर जनताको मेहनत र माटोलाई हेप्ने कुरा गर्नु लाजमर्दो हो भन्नेजस्ता टिप्पणीहरू यस पटकको प्रतिक्रियामा देख्न सकिन्छ ।
धेरैले बालेनलाई उक्त स्टाटस हटाउन वा माफी माग्नसमेत भनेका छन् । तर अहिलेसम्म मेयर शाहले न त स्टाटस हटाएका छन् न कुनै क्षमायाचनासहितको प्रतिक्रिया दिएका छन् । आलोचना चुलिँदै जाँदा अब बालेनको अर्को कदम के हुन्छ भने प्रतीक्षाकै विषय रहेको छ ।