बुटवलमा प्रोटनको नयाँ शोरुम उद्घाटन, ग्राहकलाई १५ ईभी गाडी हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा नयाँ शोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ ।

कम्पनीका अनुसार उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ । यसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन्, जसले सो क्षेत्रमा ग्राहकहरूको विश्वास र उत्साह झल्काउँछ ।

समारोहमा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुमले विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।

शोरुम उद्घाटन मुख्य अतिथि हरिप्रसाद आर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटन इमास ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए ।

अघिल्लो साँझ आयोजित प्रि–उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको थियो । त्यहाँ उपस्थित इमास ७ का मालिकहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष राजु भेटवालले भने, 'हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोण अंगिकार गरेकोमा गर्व छ ।'  

Share News