काठमाडौं । बागमती प्रदेश सरकार फेरि फिटनेस मोडमा जाने भएको छ । अहिले १४ मन्त्रालयको अछन्दिलो स्वरूप र वजन अब घट्ने भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले अब मन्त्रालयलाई डाइट प्लानमा लैजाने निर्णय गरेको नेपाली कांग्रेसकी नेतृ तथा प्रदेशमन्त्री चन्द्रप्रभा खड्गीले जानकारी दिइन् ।
उनले भनिन अव मन्त्रालयको संख्या आधा घटाउने सहमति भएको छ । ठूलो जीउको प्रदेश सरकार अव १४ बाट ७ मन्त्रालयमा झर्ने भएको छ ।
२०७४ मा सुरु हुँदा जम्मा ७ वटा मन्त्रालय रहेको प्रदेश सरकारमा ०७८ बाट मन्त्रालय थप्ने मिसन नै चलाइएको थियो ।
समय बित्दै जाँदा जस्तोसुकै समस्या समाधान गर्न मन्त्रालय थप्ने काम गलत भएको अनुभूति प्रदेश सरकारले गरेर अहिले फेरि ०७४ कै अवस्थामा फर्किने निर्णय भएको मन्त्री खड्गीले जानकारी दिइन् ।
मन्त्रालय घटाउँदा तपाईंको जागीर पनि धरापमा प¥यो नि भन्ने बिकासन्युजको जिज्ञासामा मन्त्री खड्गीले भनिन्, ‘सवाल जागीरको भन्दा पनि जनहितको हो । जनहितको काम हुँदा मेरो मन्त्री पद गुम्दा पनि म खुसी नै हुन्छु ।’