काठमाडौं । भारतमा दक्षिण एसियाको सबैभन्दा ठूलो कृत्रिम बौद्धिकता (एआई) केन्द्र बन्ने भएको छ । गुगलले आन्ध्र प्रदेशको विशाखापत्तनममा एआई हब निर्माण गर्ने घोषणा गरेको हो ।
कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर (करिब २.१२८ लाख करोड रुपैयाँ) लगानी गर्ने भएको हो।
यो घोषणा आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा गरिएको हो ।
यो नयाँ गुगल एआई हब अडानी इन्टरप्राइजेजको डेटा सेन्टर संयुक्त उद्यम अडानीकनेक्स र एयरटेलको सहकार्यमा स्थापना गरिन लागिएको हो । उक्त लगानीलाई समुद्र मुनिको केबल सञ्जाल र स्वच्छ ऊर्जाको आधारमा अघि बढाइनेछ ।
गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थोमस कुरियनले नयाँ दिल्लीमा आयोजित एआई कार्यक्रममा बताएअनुसार यस डेटा सेन्टर क्याम्पसको प्रारम्भिक क्षमता १ गिगावाट हुनेछ, जसलाई पछि धेरै गिगावाटसम्म विस्तार गरिनेछ ।
अडानी इन्टरप्राइजेजले यो परियोजनाअन्तर्गत आन्ध्र प्रदेशमा नयाँ ट्रान्समिसन लाइन, स्वच्छ ऊर्जा उत्पादन र ऊर्जा भण्डारण प्रणालीमा पनि संयुक्त लगानी गरिने जनाएको छ ।
कुरियनले भने, ‘यो अमेरिका पछिको विश्वकै सबैभन्दा ठूलो एआई हब हो, जसमा हामी लगानी गर्न गइरहेका छौं । यो १२ विभिन्न देशमा बन्ने एआई केन्द्रहरूको विश्वव्यापी सञ्जालको हिस्सा हुनेछ ।’
यसअघि राज्य अधिकारीहरूले यस परियोजनाका लागि करिब १० अर्ब डलरको लगानी अनुमान गरेका थिए । राज्य सरकारको भनाइ अनुसार यसबाट करिब १ लाख ८८ हजार नयाँ रोजगारी अवसरहरू सिर्जना हुनेछन् ।
वास्तवमा एआई प्रविधीका लागि अत्यधिक कम्प्युटिङ शक्ति आवश्यक पर्छ । त्यसका लागि विशेष प्रकारका डेटा सेन्टरहरू चाहिन्छ, जसले प्रविधि कम्पनीहरूलाई हजारौं चिपहरू एउटै प्रणालीमा जोड्ने सुविधा प्रदान गर्न सक्छन् ।
माइक्रोसफ्ट र अमेजनजस्ता ठूला कम्पनीहरूले पहिले नै भारतमा डेटा सेन्टर स्थापनाका लागि अर्बौं डलर लगानी गरिसकेका छन् । करिब एक अर्ब इन्टरनेट प्रयोगकर्तासहित भारत विश्वकै एक महत्त्वपूर्ण उदयोन्मुख बजार बनेको छ । भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानीले पनि देशमा डेटा सेन्टर क्षमता विस्तारका लागि ठूलो लगानी घोषणा गरिसकेका छन् ।
गुगलकी मातृ कम्पनी अल्फाबेट इन्कले भारतलाई आफ्नो प्रमुख विकास बजारका रूपमा हेर्छ । भारतमा गुगलको युट्युब सेवा सबैभन्दा बढी प्रयोग हुने देश हो र एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या पनि विश्वमै अग्रस्थानमा छ ।