काठमाडौं । लामो समयपछि सक्रिय बनेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय समिति बैठकमा संगठनभित्रको असमझदारी र नेतृत्व व्यवस्थापनमा खुलेर बोलेका छन् ।
देउवाले कांग्रेसभित्र अब सहमतिको नभई एकताको परीक्षा सुरु भएको बताए ।
सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको बैठकमा देउवाले पार्टीभित्र विचार मिल्नु स्वाभाविक भए पनि असहमतिको संस्कार अंगीकार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कांग्रेसको बल बहस र मतभिन्नतामा हुन्छ । तर अन्ततः हाम्रो गन्तव्य एउटै हो—लोकतन्त्रको रक्षा र पार्टीको एकता ।’
सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन् ।
बैठकको सुरुवातमा सभापति देउवाले सम्बोधन गरेपश्चात यही असोज ३० गते दिउँसो १ः०० बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एवं आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । त्यसपछि उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका हुन् । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन् ।