क्रान्तिपछिको क्रान्तिकारी सरकार भएकाले बकबक नगर्न गृहमन्त्री अर्यालको चेतावनी

फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारलाई क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भन्दै सरकारका कामकारबाहीबारे अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् ।

माइतीघर मण्डलामा अनशनरत युवा मदन बुढाको अनशन तोड्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रष्टाचारविरुद्धको सरकारको कठोर कदमलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, यो क्रान्तिपछि बनेको सरकार हो । कोही कन्फ्युजनमा नहुन अहिले बकबक गरिरहेका मानिसहरू पनि कन्फ्युजनमा होलान् । यो क्रान्तिकारी सरकार हो । भ्रष्टाचारी खोज्न पाइँदैन, शान्ति–सुरक्षा कायम गर्न पाइँदैन भन्ने कुरा कदापि स्वीकार्य छैन ।’

गृहमन्त्री अर्यालले सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नुका साथै शान्ति–सुरक्षा कायम राख्नु र भ्रष्टाचार अन्त्य गर्नु भएको बताउँदै निर्वाचनको बहानामा भ्रष्टाचारीमाथि कारबाही गर्न थाल्दा अनेक बहाना नबनाउन अनुरोध गरे ।

उनी भन्छन्, ‘यो सरकारले निर्वाचन पनि गराउँछ, तर शान्ति–सुरक्षा र भ्रष्टाचार निर्मूल गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।

गृहमन्त्रीको यो अभिव्यक्ति सरकारका कतिपय निर्णयहरूलाई लिएर सार्वजनिक चासो र आलोचना बढिरहेका बेला आएको हो ।

Share News