सुनको मूल्य साढे २ लाख नजिक पुग्दा थप बढ्न थाल्यो तस्करी, ‘ठूला व्यवसायी’ नै संलग्न

एकै दिन दुई केजी सुन बरामद

काठमाडौं । सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनिरहेको छ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार एक सय रुपैयाँ बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो । सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँ पुगेको पुगिसकेको छ । 

बजारमा सुनचाँदीको मूल्य बढिरहँदा बजारमा सुन तस्करहरू भने थप चलायमान हुन थालेका छन् । मंगलबारमात्रै पर्सामा ठूलो परिमाणमा सुन बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको जानकारी दिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए ।

‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो’, उनले भने, ‘संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगेर मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेला परेको छ ।’

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारू ४१ हजार ६० पनि बरामद गरेको छ ।

पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । ‘बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ’, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ । 

बरामत भएको सुन व्यवसायी अभिषेक सर्राफको रहेको बुझिएको छ । सर्राफ वीरगन्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन् । राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, पसल र गोदाममा खानतलासी गरेको थियो । प्रहरीले उनको बैंक खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू आफ्नो कब्जामा लिएको बुझिएको छ । 

प्रहरीका अनुसार पछिल्लो समय सुन तस्करहरु सलबलाउन थालेका छन् । प्रहरीले विभिन्न ठाउँमा सूचनाका आधारमा छापा मार्ने तथा अनुसन्धान गर्ने कामलाई तीव्रता दिएको छ । प्रहरीका अनुसार ठूला सुनचाँदी व्यवसायीहरू नै यस्तो काममा संलग्न छन् । 

Share News