काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्चले नयाँ मुद्दा अघि बढाउने भनेको पहिलो दिन नै प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा परेको हो ।
जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । सोहीविरुद्ध सर्वाेच्चमा रिट परेको हो ।
सर्वोच्च बार ईकाइका सचिव रमण कर्ण अहिलेको संवैधानिक परिस्थितिलाई लिएर सर्वोच्च अदालतमा कानुनी बहसको ढोका खुलेको बताउँछन् ।
अधिवक्ता कर्ण भन्छन्, ‘आगामी दिनमा यी रिटहरूमाथिको सुनुवाइ हुँदा अदालतको निर्णयले राजनीतिक दिशानिर्देशन तय गर्न सक्ने देखिन्छ ।’
त्यसैगरी, सुशीला कार्कीको सरकार असंवैधानिक भन्दै एउटा रिट परेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
अदालत परिसरमा भदौ २४ गते भएको आगजनी र तोडफोडका घटनाले अदालतको कार्य सम्पादनमा व्यापक असर पारेको थियो । घटनापछि अदालतको भौतिक संरचना, फाइल र अभिलेखमा समेत क्षति पुगेको कारण केही दिनका लागि मुद्दा दर्ता, सुनुवाइ तथा अन्य न्यायिक कार्य स्थगित गरिएको थियो ।
यसअघि अदालतको कामकाज स्थगित हुँदा बन्दी प्रत्यक्षीकरण, पुर्जी आदेश र विभिन्न संवैधानिक मुद्दाहरूको सुनुवाइ रोकिएका थिए । अब ती सबै प्रक्रिया क्रमशः अगाडि बढाइने अदालतले स्पष्ट पारेको छ ।