१० दिनमा पनि बनेन वैकल्पिक सडक, मेची राजमार्गका यात्रु र व्यवसायीलाई सास्ती

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ ।

सो सडक खण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । 

‘हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ । तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ,’ उनले भने । 

उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ । प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ,’ प्रजीअ नेपालले भने । 

गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ । 

आइतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू-संरचनाका कारण सो सडक तत्काल खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए । 

Share News