काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरूको तलब १५ देखि २० हजार रुपैयाँ मात्रै तलबभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ ।
विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् । बिरामीहरूको असुविधाको लागि माफी माग्दै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ ।
उनले भनिन्, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’
नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ ।