काठमाडौं । अमेरिकाको बढ्दो ऋण अब ठूलो चिन्ताको विषय बन्दै गएको छ । चीनले अमेरिकी ऋणबाट दूरी बनाउन थालेको छ र यो विषय विश्व अर्थतन्त्रका लागि डरलाग्दो संकेत मानिएको छ । यसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सक्छ । यसको असरले अमेरिकी डलरको स्थिति कमजोर पार्ने अनुमान गरिएको छ ।
यस्तै अवस्थामा एक महत्त्वपूर्ण प्रश्न उठेको छ — जब विश्वको सबैभन्दा ठूलो ऋणी देश आफ्नो ऋण फिर्ता गर्न असफल हुन थाल्छ, तब के हुन्छ ?
विश्लेषकका अनुसार यो प्रश्नले चाँडै नै विश्व अर्थतन्त्रको रूपरेखा नै बदल्न सक्छ । किनभने ठूला देशहरूले अमेरिकाबाट आफ्नो पूँजी फिर्ता लिन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चेतावनी दिएको छ कि अमेरिकी ऋणको जालो अब नियन्त्रणबाहिर गइसकेको छ । अमेरिकामाथि युरोप, अफ्रिका र दक्षिण अमेरिकाको संयुक्त जीडीपीभन्दा बढी ऋण छ । प्रत्येक अमेरिकी नागरिकमाथि १ लाख डलरभन्दा बढी ऋण परेको छ ।
यो चेतावनी आईएमएफले अमेरिकाको संघीय ऋण ३६ ट्रिलियन डलर पुगेको पछिल्लो तथ्यांक सार्वजनिक गरेपछि आएको हो । यो ऋण मुख्यतः २००८ को आर्थिक संकटपछिका बेलआउट प्याकेज, अभूतपूर्व रक्षा खर्च र कोभिड महामारीका बेला दिइएका प्रोत्साहन योजनाका कारण बढ्दै गएको हो ।
अहिले अमेरिकाका सबैभन्दा ठूला ऋणदाता देशहरूले आफ्नो पैसा फिर्ता लिन थालेका छन् । चीन, जापान, बेलायत र क्यानडा जस्ता देशहरूले शान्तिपूर्वक अमेरिकी ट्रेजरी बन्डहरू (सरकारी प्रतिभूति) बेच्न थालेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता चीनले यो प्रक्रिया सुरु गरिसकेको छ। जापान पनि सोही बाटोमा छ ।
निवेशकहरूलाई आकर्षित गर्न अमेरिकाले ब्याजदर बढाउँदैछ, तर यसले संकटलाई झन् गहिरो बनाइरहेको छ । अहिले अमेरिकाको वार्षिक ब्याज भुक्तानी १ ट्रिलियन डलरभन्दा माथि पुगेको छ, जुन अमेरिकी रक्षा विभाग (पेन्टागन) को बजेटभन्दा पनि बढी हो । विश्व पूँजी प्रवाहमा पनि परिवर्तन देखिन थालेको छ — विभिन्न मुलुकका केन्द्रीय बैंकहरू अहिले सुनतर्फ आकर्षित भइरहेका छन् र उदीयमान बजारहरूमा चिनियाँ युआनले व्यापारिक मुद्राको रूपमा स्थान पाउँदैछ ।
विश्लेषकहरूले धनी वर्गमाथि कर बढाउने सुझाव दिएका छन् । उनीहरूको भनाइमा रक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा खर्च कटौती गर्ने प्रयासले देशभित्र आर्थिक तथा सामाजिक अस्थिरता निम्त्याउन सक्छ ।
उनीहरूका अनुसार सम्भावित विकल्पका रूपमा आयातमा शुल्क (ट्यारिफ) बढाउने र आप्रवासन (इमिग्रेशन) घटाउने नीति मात्र बाँकी देखिन्छ । तर यस्ता कदमले अमेरिकालाई अन्तर्राष्ट्रिय स्तरमा झन् एक्ल्याउने जोखिम समेत रहन्छ ।
विश्लेषकहरूले यदि वर्तमान आर्थिक अवस्थाको समाधान चाँडै खोजिएन भने अमेरिकी डलरको अवमूल्यन सुरु हुन सक्ने र यसको असर विश्व अर्थतन्त्रमै पर्न सक्ने चेतावनी दिएका छन् ।
टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै
मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै