काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको बताएका छन् ।
काबुलमा आइतबार पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् ।
उनका अनुसार जवाफी कारबाहीमा २० पाकिस्तानी चौकीमा कब्जा गरिएको थियो, तर झडप सकिएपछि ती फिर्ता गरिएका थिए ।
जबिहुल्लाह मुजाहिदको दाबीमा अहिलेसम्म पाकिस्तानको कुनै प्रतिक्रिया आएको छैन । यद्यपि गृहमन्त्री मोहसिन नकवीले शनिबार राति दाबी गरेका थिए कि अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको छ ।
प्रवक्ताले झडपको क्रममा ९ जना तालिबानका सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरेका छन् ।
जबिहुल्लाह मुजाहिदले आरोप लगाएका छन् कि आईएसआईएसको प्रमुख पाकिस्तानमा छ र यो संगठन हाल पनि खैबर पख्तूनख्वाह र बलुचिस्तान प्रान्तहरूमा सक्रिय छ ।
उनले अफगानिस्तानबाट आईएसआईएस नरहेको दावीसमेत गरे । आईएसआईएसका प्रशिक्षण केन्द्र पाकिस्तानमा स्थापित रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको उनले बताए ।
उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत यात्रा कुनै देशको विरोधमा नभएको र यसमा आपत्ति जनाउन पनि नहुने बताए ।