ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्‍यो साइकलमैत्री आकाशे पुल

ललितपुर । ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका हुन् ।

पुलको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख महर्जनले चक्रपथको धोबीघाट क्षेत्र पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै, उक्त जोखिम घटाउनका लागि आकाशे पुल निर्माण गर्न लागिएको बताए ।

उनले भने, 'सडक सुरक्षित नभएकै कारण यो ठाउँमा दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुन नदिनका लागि पुल बनाउन लागेका हौं ।'

महर्जनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको र चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै, कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाइएको र धापाखेलस्थित महादेव खोलामा समेत पुल निर्माण भइरहेको बताए ।

महानगर प्रमुख महर्जनका अनुसार, चक्रपथ क्षेत्रमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएकाले समय लाग्ने गरेको छ । उनले भने, 'पुल निर्माणका लागि धेरैअघि नै माग आएको थियो तर स्वीकृति पाउन ढिलाइ भएकाले काम ढिलो सुरु भएको हो ।' उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

सुशासन तथा संस्थागत विकास समितिका संयोजक र वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । उनका अनुसार, स्थानीयको मागअनुसार पुल निर्माणका लागि महानगरले धेरैअघि नै प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति ढिलो पाएकाले काम सुरु हुन ढिलाइ भएको हो ।

उनले विकास निर्माणका काममा स्थानीयले महानगरसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक रहेको उल्लेख गर्दै, सुशासन र अनुशासन कायम राख्न सबैलाई आग्रह गरे ।

वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा निर्माण भइरहेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सजिलो र सुरक्षित बनाउने बताए ।

त्यसैगरी, ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । उनका अनुसार, सडक वारपार गर्दा भएका दुर्घटनामा धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखी निर्माण कार्य सुरु गरिएको हो ।

महानगरका अनुसार, पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल–सुन्दरीघाट मार्गका पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुने बताइएको छ ।

Share News