नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो : एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्रयाएको छ । एनआरएनएले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो तथ्यांक सार्वजनिक गरेको हो । 

आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुले जोड दिएको बताए । उनले गैरआवासीय नेपालीहरुले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरु लगानी बढाउन प्रतिवद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो ।

उनले भने,  ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठूलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढि गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ ।’

एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदुतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकीर गरे । 

Share News