काठमाडौं । रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार प्रधानाध्यापक प्रसादले शिक्षक आवश्यक भनी खुलाइएको विज्ञापनमा एक जनाले मात्रै रीतपूर्वक दरखास्त दिएको अवस्थामा पनि बिचौलिया अरविन्द प्रकाश साहमार्फत साढे चार लाख रुपैयाँ घुस लिएका थिए ।
घुस लिइसकेको अवस्थामा दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ ।