दैनिक पर्यटन आगमन १६ सयबाट ४२ सयसम्म पुग्यो : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै सुरक्षाको प्रत्याभूति बिना पर्यटन क्षेत्र आत्मबलपूर्वक अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । त्यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’

जोशीले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रको पुनरुत्थानका लागि समन्वित प्रयास आवश्यक रहेको पनि बताए ।

उनका अनुसार जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको थियो, तर पछिल्लो समय उक्त संख्या पुनः बढ्दै गएको छ ।

‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सयसम्म पुगेको छ,’ उनले भने, ‘हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले निरन्तर काम गरिरहेको छ ।

सीईओ जोशीले विगतका अनुभव उद्धृत गर्दै हरेक १० वर्षमा मुलुकले कुनै न कुनै संकटको सामना गर्नुपरेको उल्लेख गरे । उनले यस्तो परिस्थितिमा पनि काम गर्न सक्ने एक स्थायी संरचना विकास गर्नुपर्नेमा जोड दिए ।

Share News