फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ केन्द्र, निःशुल्क बिक्री गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूल तथा मालााहरूको बिक्री–वितरण गर्नको लागि ३२ बिक्री केन्द्र तोकेको छ । महानगरले तिहारलाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूलको बिक्रीको लागि सहजीकरण गर्दै ती केन्द्रहरू तोकेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले किसानलाई बजारीकरणको लागि कुनै पनि असहज नहोस् भनेर यी केन्द्रहरू तोकिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । 

उनका अनुसार किसानले तोकेको बिक्री केन्द्रमा निःशुल्क फूल तथा माला बिक्री गर्न पाउनेछन् । किसानलाई सहजीकरणको लागि महानगरले बिक्री केन्द्रको सम्पर्क नम्बरसमेत राखेको छ ।

उनका अनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म किसानले फूल बिक्री गर्न पायक पर्ने केन्द्रमा जान सक्नेछन् । सम्पर्क नम्बरमा कुनै समस्या भए प्रहरीको कन्टोल रुममा सम्पर्क गर्न सक्ने उनले बताए । 

महानगरले नयाँ बानेश्वरमा एनबी कम्प्लेक्स र आईप्लेक्स मल बिक्री केन्द्र तोकेको छ । मध्यबानेश्वरमा सेल्सबेरी, फोनेक्स टावर बत्तीसपुत्तली, तीनकुने चौर, सिफल चौर, चावहिलमा एसी कम्प्लेक्स र चावहिल गणेशस्थान तरकारी बजार, एसी कम्प्लेक्स, केएल टावर अगाडि, चावहिल सेन्टर अगाडि बिक्री केन्द्र तोकेको छ । 

त्यसैगरी, स्वयम्भुमा धर्म चक्र पार्क कालिमाटी वाङ्गक्यूट, कलंकीको भाटभटेनी, नयाँ बजारमा भ्याली कोल्ड स्टोर, माछापोखरी गुणस्तर खाल्डा, वुद्ध महल, हाँडीगाउँ ५ नम्बर वडा कायाृलया अगाडिको डबली, र गणेश मन्दिर डवली, कोइराला स्मार्ट २६ वडा सामाखुशी, महारग्रञ्जमा सेल्सवेरी, गंगवु र चपलकारखानाका विगमार्टमा किसानले आफूले उत्पादन गरेको फुल बिक्री गर्न सक्नेछन् । 

यस्तै, कामपा वडा न २८ आइटी विल्डिङ, पुत्तली सडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेवाल मन्दिर परिसर, न्युप्लाजाका बज्र कम्प्लेक्स र काठमाडौं मल बिक्री केन्द्र तोकेको छ । 

महानगरका प्रमुख पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनको भनाइ छ ।
 
उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । 

Share News