काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि नेपालले १० लाख १८ हजार एक सय डोज खोज प्राप्त गरिसकेको छ ।
अन्तर्राष्ट्रिय समन्य समूह (आइसीजी)ले मुखबाट खुवाउने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसिभी) उपलब्ध गराएको छ ।
भ्याक्सिन प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन लागेको जनाएको छ ।
खोप कार्यक्रम पर्सामा भदौ २६ गते र बारमा २९ गतेदेखि सुरु गर्ने तयारी छ ।
पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएको थियो । पर्सा र बारा जिल्ला गरी १ हजार ६ सय ८५ बिरामी फेला परेका थिए । यसअघि यस्तै खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा दिइएको थियो ।