काठमाडौं । साहित्यिक क्षेत्रका उत्कृष्ट कृति र योगदानको कदर गर्दै यस वर्षको नोबेल पुरस्कार हंगेरीका लेखक लाज्लो क्राज्नाहोरकाईलाई प्रदान गरिएको छ । विजेताको घोषणा आज गरिएको हो ।
नोबेल पुरस्कारको आधिकारिक वेबसाइटका अनुसार ‘विनाशकारी डरको वातावरणबीच कलाको शक्ति पुन: स्थापित गर्ने र प्रभावशाली तथा दूरदर्शी रचनात्मक कार्यका लागि यो पुरस्कार दिइएको हो ।’
‘लाज्लो क्राज्नाहोरकाई मध्य युरोपेली साहित्य परम्पराका एक महान महाकाव्य लेखक हुन् । यो परम्परा फ्रान्ज काफ्कादेखि थोमस बेर्नहार्डसम्म फैलिएको छ,’ वेबसाइटमा उल्लेख छ ।
लाज्लोको जन्म सन् १९५४ मा हंगरीको दक्षिणपूर्वस्थित सानो सहरमा भएको थियो, जुन रोमानियाको सीमासँग नजिकै पर्छ । उनको पहिलो उपन्यास ‘सटान्टान्गो’ सन् १९८५ मा प्रकाशित भएको थियो र त्यसयता साहित्यप्रेमीहरूको मन जित्दै आएका छन् ।
यस पुरस्कारसँगै उनी विश्वसाहित्यको प्रतिष्ठित लेखकको रूपमा झन् बलियोसँग स्थापित भएका छन् ।