काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ ।
स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन् ।
१४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ ।
पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो ।
यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ ।