टाटा समूहमा नेतृत्व संकट : रतन टाटाको निधनपछि विवाद र आन्तरिक कलह

रतन टाटा ।

काठमाडौं । टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटालाई आज उनको पहिलो पुण्यतिथिमा व्यापारिक जगतले सम्झिरहेको छ । गत वर्ष ९ अक्टोबरमा उनको निधन भएको थियो । रतन टाटाजस्ता व्यवसायी जसको दूरदर्शिता र नैतिकताले भारतमा व्यापार र समाजसेवा दुवैलाई सही आकार दिएको थियो । 

उनको ठूलो समूह टाटा ट्रस्ट्सले आन्तरिक कलहको सामना गरिरहेको छ । टाटा ट्रस्ट्सले टाटा सन्समा ६६ प्रतिशत हिस्सेदारी राखेको छ । यो विवाद रतनको निधनको एक वर्षपछि पनि जारी रहेको हो ।

रतन टाटाको निधनको एक वर्षमै टाटा समूहमा धेरै विवाद देखा परेका छन् । रतन टाटाको निधनपछि उनका भाई नोएल टाटाले नेतृत्व गरेको टाटा ट्रस्ट्समा ट्रस्टीहरूबीच बोर्ड नियुक्ति र व्यवस्थापन सम्बन्धी विवाद भइरहेको छ । नोएल टाटासँग जोडिएका एक समूह र चार ट्रस्टीहरूको समूहबीच मतभेद उत्पन्न भएको हो । दोस्रो समूहको नेतृत्व मेहली मिस्त्रीले गर्दैछन् जो शापूरजी पल्लोनजी परिवारसँग सम्बन्धित छन् । यस परिवारको टाटा सन्समा १८.३७ प्रतिशत हिस्सेदारी छ ।
 
यो विवाद बोर्डका सदस्यहरूको नाम तय गर्ने सम्बन्धमा छ । अक्टोबर २०२४ मा रतन टाटाको निधनपछि टाटा ट्रस्ट्सले नयाँ नीति बनायो, जसअनुसार ७५ वर्षभन्दा माथि उमेर भएका नामनिर्दिष्ट निर्देशकहरूको टाटा सन्स बोर्डमा हरेक वर्ष फेरि नियुक्ति हुनेछ । यसपछि विजय सिंहले स्वयं टाटा सन्स बोर्डबाट राजीनामा दिए ।

सरकारसम्म पुग्यो विवाद

ट्रस्ट्स र शापूरजी पल्लोनजी समूहबीच अर्को ठूलो विवाद टाटा सन्सलाई अपर लेयर कोर इनभेस्टमेन्ट कम्पनी (सीआईसी) का रूपमा सूचीबद्ध गर्ने बारेमा छ । एसपी समूहका लागि आफ्नो हिस्सेदारी बेचेर पैसा जुटाउन जरुरी छ किनभने उनीहरूको ऋण लगातार बढ्दैछ । यसै वर्षको सुरुमा उनले लगभग ३० हजार करोड भारु ऋणलाई लगभग २० प्रतिशत उच्च ब्याजदरमा पुनःवित्त पोषण (पुरानो ऋण वा कर्जालाई नयाँ सर्तमा फेरि व्यवस्थापन गर्नु) गरेका थिए । यदि समूहको हिस्सेदारी आंशिक रूपमा टाटा ट्रस्ट्स र टाटा सन्सले खरिद गर्छ भने ऋण लगभग ५० प्रतिशत घट्न सक्छ ।

१० अक्टोबरमा हुने अर्को टाटा ट्रस्ट्स बोर्ड बैठकलाई ध्यानमा राख्दै आशा गरिएको छ कि दुबै विरोधी समूहबीच विवाद सुल्झिनेछ । देशको सबैभन्दा प्रतिष्ठित समूहका ट्रस्टीहरूले आन्तरिक मुद्दा समाधान गर्न सरकारको सहयोग लिनुपरेको छ । गृहमन्त्री अमित शाहले मंगलबार ट्रस्टीहरूसँगको बैठकमा दुबै समूहलाई ‘टाटाको तरिका’ अनुसार काम गर्न निर्देशन दिएका छन् ताकि समूहको सञ्चालनमा कुनै नराम्रो असर नपरोस् ।

यस आन्तरिक कलहले १८० अर्ब डलर मूल्यको ठूलो समूहको कामकाजमा असर पार्न सक्ने भारतीय विश्लेषकहरू बताउँछन् । समूहको विरासत बचाउन सरकारको हस्तक्षेपको विकल्पमा पनि विचार भइरहेको छ। 

रतन टाटाले सन् १९६२ मा टाटा ग्रुपमा काम सुरु गरेका थिए । दशकौंको मेहनतपछि उनी समूहको नेतृत्वमा उभिए र १९९१ मा टाटा सन्सका अध्यक्ष भए । उनी केवल व्यवसायिक दृष्टिले मात्र होइन, मानवीयता र समाजसेवाका लागि पनि चर्चित थिए । 

उनको नेतृत्वमा टाटा समूहले व्यापारिक सफलता मात्र नभई स्वास्थ्य, शिक्षा र ग्रामीण विकासमा पनि ठूलो योगदान दिएको छ । 

रतन टाटालाई २००८ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो । 

रतन टाटाको स्मृति केवल व्यापारमा सफलता मात्र होइन, समाज र मानवताको सेवामा पनि उनको योगदान सम्झाउने प्रकारको छ।
 

Share News