महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका संस्थाहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाटसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विमानस्थल लाउन्ज सेवासहित र्याडिसन होटलका विभिन्न सेवामा छुट पाउनेछन् । ग्राहकले विमानस्थल लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

बैंकले यस सहकार्यबाट आफ्ना कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ । साथै, बैंकले हालै सुरु गरेको अर्को योजनाअनुसार ग्राहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तान गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

Share News